Wednesday, December 11, 2019

हो तपाई नेपालीहरुको राजै हो!

पुर्णे कटेर औंसी तिर ढल्कदै गरेको एक साझको कुरा हो। काम बिशेषले पल्लो गाँउ गएर फर्कदै थिए। असारे झरीले भिजेर तेल लाए जस्तै बाटोमा म लड़बदिदै ओरालो हुइकिदै थिए। “अँध्यारो नहुदै खोला तर्नु पर्छ।” म एक्लै भुन्भुनिदै ओरालो हानिदै गर्दा “ए विजे ! विजे” कसैको आवाजले म झ्याप्प रोकिए। “हैन को रहेछ, यो अनकन्टार जंगलमा?” मैले यताउता आवाज दिनेलाई खोज्ने प्रयास गरे। “हैन रात पर्न आटी सक्यो, कता हाक्कीएको हो?” उसको यो प्रश्नले ऊ कहाँ छ? भनि थम्याउन सजिलो भयो। “यहि गाउँको कृष्णे पो रैछन्।” साएद रोपाईबाट फर्केका होलान्, कांदमा कोदालो अनि हिलाम्य लुगा लगाएका थिए। त्यो हेरेर अड्कल लगाए। “जाँउ आज हाम्रोमा बसु?” एकसुरमा हिडेको मान्छेलाई प्रश्न माथि प्रश्नले गर्दा, म अक्कन बक्क भए। मैले स्थिति सम्हाल्न झुटो बोले “हैन मित्र भोलि बिहानै देखि रोपाई छ। आज जसरी पनि घर पुग्नु पर्छ।” उसले अझै आत्मियता प्रकट गर्दै भन्यो। “हैन के कुरा गरिरा? हामी मित्र हैनौ र? भोलि बिहानै उठेर गए पुगीहालिन्छनी!” भन्दै पाखुरीमा समाई मास्थिर तान्छन् बाँ! “कैयौ पटक मेरै घरको बाटो ऊ सहर गइ फर्कदा, झमक्क रात पर्दा समेत “मेरोमा बसम” भनिन, “आज कुन मुखले उसकोमा जानु?" फेरी अर्को मनले सोचे “आफ़्नो त घरै दोबाटोमा छ!, कतिलाई बसुम भनेर सक्ने हो र?” मैले ऊ बाट उम्कन केहि वास्तविकता झल्काउने प्रयास गरे। “हैन मित्र, तिमी हामी एउटै हौँ! जो-जसकोमा बस्दा पनि हुन्छ। मलाई पनि सार्है बस्न मन थियो। तर भोलिको रोपाई, आज आकाश पनि निक्कै गर्जेकोले ठुलै पानी पर्ला जस्तो छ। भोलि बिहानै खोला तर्न सकिन भने बर्बाद हुन्छ।” गाउँ घरको असार “मानो खाएर मुरी उब्जाउने” समय भन्छन्। त्यो कुराले हो कि? मेरो कुरा मित्रलाई बिस्वाश लागेछ क्यार? पाखुरीको हात छोड्दै “अर्को पटक आउदा पक्का बस्नु पर्छनी?” मैले "हुन्छ" भन्ने बाचा गरे। अनि फेरी ओरालो हानिए।
आशा थियो। बेशीमा कोहि न कोहि खेताहारा भेट्ने, लाइटको व्यवस्था पनि हुने, अनि गफमार्दै उकालो पनि कटाउने। खोलामा झर्दासम्म झिस्मिसे भैसकेको थियो। खोलापारी खेताहाराहरु लाईट बाल्दै उकालो चढेको देखिन्थ्यो। “कोहि रोकीइपो हाल्छन् कि?” भन्ने आशामा “सिठ्ठी बजाए” “ऊऊईइ” गरि आवाज दिए। तर बिडम्बना कसैले सुनेनन्। “सुनोस् पनि कसरी?” वर्षा यामको खोलाले जोडतोडसंग उर्लदै निकालेको आवाजले मेरो आवाज कहाँ बिलायो कहाँ? “अलि चाक्लो ठाउँ हेरेर तर्नु पर्यो।” भनि जादै थिए। एउटा मान्छेको आकृति देखे। मैले सटिकमा सोधे “को हो?” उताबाट जवाफ आयो “म नेपालीहरुको राजा हुँ!” “अरे! गणतन्त्र भन्छन् त, हैन को राजा?” मैले फेरी प्रश्न गरे। ऊ खित्का छाडेर हाँस्यो “हा हा हा खित्खित्खित….त नेपाली हैनस्?” उसको प्रति प्रश्न थियो। “अहिले सम्म अड्डा आदलत गाँ छैनस्? बिकाशको नाममा समाज सेवी भनाउदाहरुले कुर्लुम्म पारेको देख्या छैनस्?” प्रशंग बिनाको कुराले म अक्कन बक्क भए, सुनीरहे, फेरी उसले थप्यो। “म त्यस्ता ठाउँ र त्यस्ता व्यक्तिहरुको भगवान हुँ! तिनीहरुको राजा भष्टाचार हुँ भष्टाचार!” झ्याप्प दिमागमा आयो “साला पागल रहेछ कि के हो?” मैले अक्मकिदै सोधे “अ~अनि तिम्रो घर चाई कहाँ?” उसले उत्तर दियो। “मेरो घर त्यहि हो। जहाँ लाल्ची, फटाहा, अल्छीहरु बस्छन्।” उसको यो उत्तरसंगै मैले त्यी व्यक्तिहरुलाई सम्झिए। जसले सोझा गाँउलेहरुलाई बिभिद बहाना बनाई “काम नबन्ने तर पैसा तिरे बन्ने” “दरता गरिएको मृतुदरता समेत, सम्बन्धित ठाउँमा नबुझाई निरन्तर बृद्ध भट्टा कुम्ल्याउने” “गाउँ सहरको विकास परियोजनाका लागि आउने सरकारी बजेट कुर्लुम्म पार्ने” हाम्रै गाउँ ठाउँ अनि छर-छिमेकीको बारेमा कुरा गरेझै लाग्यो।
“पैसा तिरे, बिना झन्झट जस्तो सुकै काम पनि बन्ने।” यति सजिलोकी “दिनेले दिए हुन्छ, अनि लिनेले लिए हुन्छ।” भन्ने हाम्रो मानसिकता, अनि "जसले लिए पनि, दिए पनि ठिकै छ! गरिखाओस्, गरिखायो।” भन्ने नेपालीहरुको उदार भावनालाई सम्झे। अहिलेसम्म लिने कुरा नलिए पनि, अरुले लिएको र दिएको थाहा पाउदा पाउदै पनि धेरै चोटी "ठिकै छ!" भनेर चुप बसेकै छौं। आफ्नो काम पर्दा “दाई यसो मिलाउनुन” भनेर दान दक्षिना गरेकै छौं। सारा कुरा दिमागमा घुमाए, अनि कोल्टे फर्केर “खिसिक्क हाँसे।” ऊ तिर फर्कदै २ हात जोडे “हो तपाई नेपालीहरुको राजै हो!” "अझ माहा-राजै हो!" भन्दै नमस्कार गरे। उसलाई मेरो समर्थनले खुशी बनाएछ क्यार? "संगै खोला तरौ" भन्ने प्रस्ताब गरे। मैले पनि यसो विचार गरे, “वर्षायामको उर्लदो खोला छ, यसै भन्न सकिन्न। एक्लै भन्दा संगै तर्दा बेश होला।” अनि संगै खोला तरेर ऊ आफ्नो बाटो लाग्यो। म आफ्नो बाटो लागे।
BJ

No comments:

Post a Comment

A Short Magar Kauda dance