Thursday, February 15, 2018

धर्मे दाई


संधैं झैँ यस पाली पनि चुनाब भयो। कति नेताहरु पत्तासाफ हुने गरी हारे, कति नामै नसुनेका नेताहरु उदाय। अनि रेडियो नेपालले तात्तातै नयाँ सरकार बनेको घोषणा फुक्यो। सधैँ झैँ भन्ज्याङ्गको चौतारीमा गफ्फिने बुढाहरु आज पनि टिका टिप्पणी गर्दै थिए। तिन्घरे बाले मुख फोरिहाले "सरकार बन्यो रे, कानो गोरुलाई औंशी न पूर्णे !" मुखिया बाले थपिहाले "सरकार हामीलाई आको होर? भोट माग्ने बेलामा ढोग गर्न आउछन, जिते पछि गुहु खोज्न गाको कुक्कुर हराए झैँ हराउछन।" बुढाको कुराले गफंतेहरुलाई निक्कै घत लागेछ क्यार! भन्ज्याङ्ग नै थर्कने गरि हास्न थाले ! .....
तर यस पालाको सरकार सधैंको झैँ नामर्द रहेन, १ हप्ता मै शक्त्तिको बाँडफाड भो अब्बल, शिक्षित, जवान व्यक्त्तिहरुलाई पद सम्हाल्ने मौका दिइयो। यो नयाँ सरकारको कतिले तमासा हेर्ने जमर्को गर्दै थिए। त कतिले देशको मुहार फेरिने झिनो आशा बोकेका थिए। नयाँ सरकारको यति बेला गाउँ-घर, शहर-बजारमा जताततै निक्कै चर्काचर्की बयान चलेको थियो। २ हप्ता बित्न नपाउदै बजेट पारित गर्यो। अहिले सम्म रोकिएका परियोजनाहरु सुचारु गर्ने बाचा कबुल मात्रै हैन, काम पनि सुरु गरिहाले।
आज भोलि भन्ज्याङ्गको चौतारीमा पनि नयाँ सरकारका जवान नेताहरुको बारेमा निक्कै बयान चल्न थालेको छ। हाम्रो गाउँमा पनि मोटर बाटो आउने भो, बिजुलीका खम्बा गाडिने भो। धर्मे दाईको पार्टीको जित भई सरकार बनेको हुनाले हो या? अन्य कारणले हो? त्यो थाहा भएन, तर धर्मे दाई आज भोलि अलि बाक्लै सदरमुकाम जाने आउने गर्दै छन्। वास्तविकता जे सुकै भएता पनि भन्ज्याङ्गको चौतारी आजभोली धर्मे दाईको आँगनमा सरेको छ। सधैँ होहल्ला हँसि मजाक हुने चौतारी, खाली खाली सुन्य अनि उराठिलो छ। किन किन आजभोलि मलाई पनि धर्मे दाईको आँगन नै रमाइलो लाग्न थालेको छ।
"गाउँ देखि टाढा रहेको सदरमुकाम, त्यस माथि सुबिधा सम्पन्न मोटर गाडी, २४ सै घण्टा प्रसस्त पानी, बिजुलीको झिलिमिली, यति सम्म कि केटाकेटीहरु स्कुल जादा समेत मोटर चढेर जान्छन रे !" कताकता धर्मे दाईले चर्कै गफ दिए जस्तो लाग्थ्यो। तर भित्र भित्रै भने “आफु पनि त्यस्तै स्कुल जान पाए! स्कुल नछुटाई दैनिक जाने थिए ! धेरै मिहिनेत गरेर पढ्ने थिए !" यस्तै यस्तै कल्पनामा डुबी रहन्थे ! कल्पनामै हराएर टोलाई रहन्थे।
धर्मे दाईको रवाफिलो गफमा मज्जा लिनेहरु आजभोली बढेका बढेइ छन्। ”मानौ कि उनलाई झाँक्रीले लगी मन्तर-बिद्या सिकाएर छाडेझैँ!” कहिले मन्त्रीको घरमा "गद्दा वाल कुर्चीमा बसी चरेशको थालमा परिकार-परिकार खाएको" कहिले "सहरका चिटिक्क परेकी परीहरुसंग झिलिमिली बत्तीमा कम्मरमा कम्मर मिलाउदै नाचेको !" गफ यस्ता हुन्थे कि ? सुन्नेहरुलाई समय बितेको पत्तो हुन्थेन। उनकै गफमा भुल्दा, अस्ति गोरुले तिन्घरेको बालि खाई हजुरबाले ढाडमा सुम्ल्याको अझै भुलेको छैन। उनको बिषय बस्तुमा हास्ने, खुशीहुने, रमाउने र कहिले-काहिँ लाजले रातो हुने स्रोताहरु मध्यमा म पनि पर्थे दु:खी कोहि थिएनन्। मानौ की! अब छिटै दशैं आउदैछ! धर्मे दाईले सदरमुकामबाट दशैंको साइत ल्याउदैछन।
धर्मे दाई आज निक्कै खुशी छन्। किन कि, लामो समय सम्म पार्टीको सक्रिय सदस्य भई सेवा गरेको फल स्वरुप, बाटो खन्ने सुपरभाइजरमा छनोट भएका छन्। मोटर बाटोको सिलान्यास, केन्द्रबाट मन्त्रीज्यू आएर गर्नु भयो। बाटोको सिलान्यास संगै युवाहरुमा जोस् र आइडियाहरु उम्रन थालेका छन्। सुनौलो अनि उज्यालो भविस्यको सपनाहरु देख्न थालेका छन्। बुढाबुढी र केटाकेटी मात्रै बाँकि भएको यो गाउँ पुनः जीवन्त हुने आशा पलाउदै जान थालेका छन्। कामको खोजीमा सहर पसेका, अनि बिदेशीएका युवाहरु गाउँ फर्कने क्रम बाक्लिदो छ। बाटो खनेर २-४ पैसा पनि जम्मा हुने र सोहि पैसाले व्यावसाय संचालन गरि आफ्नै गाउँमा जम्ने, यस्तै मिठा सपना देखेका युवाहरुले धर्मे दाईलाई साथ दिन कुनै कसुर नराख्ने बाचा गरे। समयमै बाटो खन्ने कार्य सुरु भो, एका-बिहानै गाउँ नै रित्तिने गरि बुढा-बुढी, युवा-युवती, केटा-केटी सबै आफ्नो आफ्नो औजार बोकी बाटो खन्न जान्थे। यस्तो लाग्थ्यो बाटो खनिदै हैन, मेला लाग्दै छ। धुलो मैलो हैन, होलीको रंग हो। पैसा कमाउन काम गरिएको हैन, आफ्नै घरको खेतालो आएको हो। अचम्म! अनि आनन्द लाग्दथ्यो गाउँलेको मेहनत, मिलनसारता, सद्भाव अनि बिकाश प्रतिको भोक देख्दा।
यो बाटोको ठेक्का पाएका ठेकेदार साहेब, जसको सहयोगले हाम्रो गाउँ पनि आब, संसार भरिका सृजनसिल देशहरुसंग गाभिदै छ। गाउँलेहरु ठेकेदार साहेबलाई भगवान झैँ पुज्ने गर्थे। अनि लोकल कुखुरा र घरमै बनाएको ३ पाने चढाउँथे। मलाई पनि यस्तो लाग्थ्यो "उनि साक्षात भगवान हुन्!" "मुर्ति पुज्ने अन्धविश्वासी हाम्रो समाजले, आज साक्षात मानव रुपी भगवानलाई खुशी पार्न पाउनु भनेको अहोभाग्य नै हो।" सायद धर्मे दाईको पनि मेरो जस्तै सोचाई थियो। त्यसैले हरेक दिन धर्मे दाईको भान्सामा ठेकेदारको लागि ३६ व्‍यंजन ५६ भोग बनाइन्थ्यो। साथमा लोकल कुखुराको भुटुवा अनि ३ पाने त सधैँ तयार नै हुन्थ्यो। जे होस ! ठेकेदारलाई खुशी पार्न धर्मे दाई लगाएतका सबै गाउँले ले कुनै कसुर बाँकि राखेनन्। महिनौ बिना कुनै थकान, बिना कुनै उदेक उही जोसका साथमा बाटो खनियो। गाउँलेहरुले पनि धेरै थोरै पैसा कमाउने मौका पाए। धर्मे दाई त झनै सुपरभाइजर नै परे, उनको के कुरा गरि साध्य भो र ? ४ पाङ्ग्रे जीप नै किन्ने भए। बाटो खन्ने कार्य सम्पन्न भो, नयाँ बाटोमा गाडी गुडाउने ड्राइभर साहेबहरुलाई बाजागाजाका साथ गाउँलेले स-सम्मान स्वागत गर्ने कार्यक्रम पनि राखेका थिए।
आजभोली गाउँमा निक्कै रौनक छाएको छ। गाडी आउनै हुदैन! हेर्ने मान्छेको भिड लाग्छ, केटाकेटीहरु गाडीको पछाडी झुण्डिन तछाड-मछाड गर्छन। यति मात्रै हैन, निन्द्रामा पनि बर्बराउँछन्। "गाडी आयो! गाडी आयो!" विदेशबाट फर्केका लाहुरेहरु जिप रिजब गरि सा~नसंग अगाडि सिटमा दोहोरि गीत सुन्दै आउछन। सहरमा पाइने सबै सुबिधाहरु आज भोलि गाउँ-घरमै पाइन्छन। केटाकेटीले खाने बरफ देखि ठुला बडाले पिउने बियर सम्म।
त्यहि हुलमा केहि युवाहरु भविस्यको योजना बनाउदै थिए। गाउँ मै नगदे बाली तथा पशुपाल लगाएतका उद्यम गर्ने, अनि सदरमुकाम लगाएतका सहरहरुमा लगेर बिक्रि गरि अर्थोपार्जन गरि आफ्नै देशमा, आफ्नै परिवारसंग खुशियाल जिन्दगी ब्यतित गर्ने, सुनौलो सपना थियो साथै समय सापेक्ष सुहाउदो र सम्भब पनि हुने भएको थियो जसको लागि धर्मे दाई लगाएतका केहि युवाले १ महिने कृषी प्रशिक्षण पनि लिए साथै कृषि विकास बैंकबाट केहि ऋण, अनि बाटो खनेर बचाई राखेको रकम मिलाई गाउँमै तरकारी खेती सुरु गर्ने भए, दिनरात गरेको मेहनतको फल स्वरुप, गाउँ नै हराभरा हुदै आएको थियो। दिन २ गुणा रात ४ गुणा भने झैँ तरकारी खेती मौलाएसंगै जोसिला युवाहरुको सपना पनि रात दिन चुलिदै थिए। किन कि? अबका केहि दिन मै मेहनतको फल पैसामा परिणत हुदै थिए। युवाहरुको मेहनत अनि धर्मे दाईको बलिदानका बारेमा वारी-परिका गाउँमा पनि खुलेर प्रसंसा हुन थालेका थिएआज हाम्रो गाउँ अन्य गाउँका लागि नमुना गाउँनै बनेको । त्यसैले गाउँ घुम्न आउनेहरुको घुइचो लाग्ने गरेको । रेडियो, टीभी, पत्रपत्रिकामा समाचार आउन थालेको जसका कारण बिदेशीएका कैयौं युवाहरु अब गाउँ मै केहि गर्ने भन्दै फर्कने क्रम बढ्दो
जवानी चढ्दै गरेको केटिको सुन्दरता झैँ कसिलो हुदै गएको बन्दाका डल्लाहरू, मुसुक्क मुस्कुराउदै गरेका काउलिहरु, अनि लाहुरे भिड्न तयार भएका लर्के जवान झैँ लरक्क परेका काँक्रा र घीरौलाहरु संग "अबका केहि दिनमै कसैको भान्साको स्वादिलो परिकार बन्ने भईस।" धर्मे दाई माया र लोभ मिश्रीत शब्दमा आफ्ना तरकारीहरुसंग यसरी नै जिस्कने गर्थे।
एक दिनको कुरा हो अचानक आकास कालो र निलो भो, अनि ठुलो मुसलधारे पानी पर्ला झैँ भयो। धेरैले प्राथना गरे पानी नपरोस्! पानी नपरोस्!, तर इन्द्रेले पार्ने पानी, पारेरै छाड्यो। धेरै पछि परेको पानीले किसानहरु “बाली लगाउन पाइने भो!” भनेर निक्कै हौसिए, अनि केटाकेटीहरु पहिलो वर्षाको मज्जा लिदै आगनमा खुब चिच्याई चिच्याई नाचिरहेका थिए। तर उद्यमी युवाहरु भने तरकारी बारीलाई कसरी बचाउने? अहिले सम्म गरेको परिश्रम कसरि बचाउने भन्दै, छाप्रो लगाउन हतारिदै थिए। तरकारी बारी बल्ल तल्ल बचाइयो। तर भर्खरै खनिएको बाटो भने उर्ले भेलले चटक्कै उदायो। प्राथनाले काम गरेन, सरापले पनि काम गरेन, बाटो बचाउन सकिएन, ठाउँ ठाउँमा स्वाट्टै भास्सियो। उर्ले भेल संगै बगेर खोलामा मिस्सियो। त्यहि बेला रेडियोमा गीत बजिरहेको थियो। "उडायो सपना सबै हुरीले...." यो गीतले धेरै युवाहरुलाई धुर्धुरी रुवायो। रेडियो नै फोरौं झैँ मर्माहत तुल्यायो। हुन पनि एक पछि अर्का, अर्का पछि झन् अर्का, सपना माथिका पनि हजारौं सपनाहरु थिए। भविस्यका परिकल्पनाहरु थिए, धनि र सभ्य नागरिक भन्ने रहरहरु थिए, जो सबै एक्कै छिनमा चर्लाम चुर्लुम बने। नारकीय अभाब र गरिबीबाट मुक्त भई, स्वर्ग जाने बाटो बनेको थियो। आज त्यो नै धोस्त भयो। दुख गरि कमाएको आफ्ना २/४ पैसा त दुबेदुबे, देखेका सारा सपनाहरु पनि यस्तै भए, तर अब कृषि बिकाश बैंकको ऋणले फेरी विदेश लखेट्ने भो! धेरै युवाहरुलाई यस्तै चिन्ताले पोल्न थालेका थिए
धर्मे दाई पनि हतार हतार खेत तर्फ लागे। अनि यता उता नजर लगाए। ठिकै थियो, खासै क्षति भएको थिएन। तर पनि आज ति तरकारीहरु देख्दा माया हैन सारै झोक चल्यो। मुस्कुराउदै गरेको काउलीलाई क~स्सेर एक लात्ती बजायो मसक्क मस्किदै गरेको बन्दालाई आर्को लात्ती बजायो। अनि लटरम्म झुण्डिएका काँक्राहरुलाई मारक मुरुक पार्यो। यता हान्यो, उता हान्यो, यता लतारियो, उता लतारियो! के दोष थियो र? त्यी निर्मम बोट बिरुवाहरुको? किन यसरी निर्दयिता देखाउदै छन्? धर्मे दाईले? थाकेर लखतरान भए पछि, भुइमा गन्द्र्याङ्ग ढलेअनि शान्त भए, साएद धर्मे दाई मरे! हैन हैन सायद थाकेर भुसुक्क निदाए क्यार? मध्ये रातमा अचानक निन्द्रा बाट बिउझेका धर्मे दाईले बिस्तारामा नभई अन्तै भएको महसुस गरे, अनि जुरुक्क उठे "अई~ या !" भन्दै कहरिये। शरीर कक्र्याक कुक्रुक्क भै दुखेको थियो। हात खुट्टामा चोट लागेर रगताम्मे भएको थियो। लगाएको टिसर्ट च्यातिएर ठाउँ ठाउँमा भ्वाङ्ग परेको थियो। लार्बरिदै बिस्तारै उठ्यो अनि खेतको डिलमा बसी दुई हातले मुख छोपेर रुन थाल्यो। सायद गहिरो चोट लागेछ क्यारे? अनि बर्बराउन थाले “उति बेला ठेकेदारको बहकाउमा नलागेको भए, पैसा कमाउने लोभमा बलौटे माटोले खाल्डो पुरी बाटो नबनाएको भए, बुढा पाकाले भन्ने गरेका “लोभले लाभ, लाभले बिलाभ भनेको यहि रहेछ।” “२ रुपियाँको लोभमा परि आफुलाई भगवानकै दुत झैँ मान्ने गाउँलेको सपना त ध्वस्त पारे पारे आफ्नै भविस्य, आफ्नै जिन्दगी समेत भताभुङ्ग बनाए। म जस्तै राज्यको सम्पत्ति हिनाबिना पर्ने पापीलाई के भगवानले स्वर्गमा बास देलान?" आफु जस्तै पापीहरु यो समाजमा धेरै भएको अनि त्यी सबै पापीहरुलाई नर्क भन्ने एउटै खाडलमा हाल्न भगवानसँग अनुरोध गर्यो।
धर्मे दाई जुरुक्क उठ्यो बिना कुनै कराहत "सायद शरीरमा लागेको घाऊ भन्दा, मनमा लागेको चोट गहिरो हुदो हो।" सरासर उकालो चढ्यो एकै सासमा घर सम्म दौडियो। कोठामा छिर्यो श्रीमतीलाई गिद्गिडाउदै भन्यो "कोहि आए सदरमुकाम गएको छ भन्नु" अनि बिस्तारामा ढल्यो।
यसलाई म निती कथा भन्न रुचाउछु। किनकि तपाई हाम्रै नियेतले हाम्रै बिकाश हुन सकेको छैन। गाउँ बिकाशको निम्ति आएको सरकारी रकम २/४ पैसा कमाउने लोभमा परि, धर्मे दाईले झैँ कुम्ल्याउन पछि पर्दैनौ। जसको फल स्वरुप तपाई हाम्रो, आफ्नै जिन्दगी बिकाश तर्फ लम्कन नसकी अन्योलमै अल्झी राखेको छ। अन्त्यमा सरकारलाई दोष दिन्छौं, नेतालाई दोष दिन्छौं, समाजलाई दोष दिन्छौं, अनि यहाँ केहि हुदैन भन्दै विदेशिने गर्छौ। धर्मे दाईले परिवर्तन हुने कसम खाएका छन्। के तपाई पनि परिवर्तन हुने हो?
बिकाशको लागि आएको रकम हिनामिना हुन नदिन आजैबाट सचेत बनौ। साथै यो कथा त्यस्ता व्यक्तिलाई शेअर गरौ।

A Short Magar Kauda dance