Thursday, December 7, 2017

"मुर्ख मगर केटो"

मगर केटो आज पहिलो दिन झोला बोकेर टुक्रु-टुक्रु स्कुल हिड्यो। उसलाई थाहा थिएन स्कुल जादा के हुन्छ? पढाई गर्दा के हुन्छ? हाफ्छुट्टीमा खानु है बाबु! भनि आमाले झोलामा राखिदिनु भएको बिष्कुट खाने लोभमै होकी!? ठुला बडाका कुरा सुनेको थियो। पढ्यो भने ठु~लो मान्छे भइन्छ रे! जान्ने बुझ्ने भईन्छ रे! पैसा पनि टन्नै कमाइन्छ रे! अनि बेला बेलामा सपना देख्ने गर्थ्यो, पढेर ठु~लो मान्छे भै धेरै पैसा कमाउने, त्यो पैसाले बिष्कुट-मिठाईको भण्डार किन्ने, आमालाई फुंली, बुंलाखी किनिदिने। मन भरि कतै डर कतै उत्साह खेलाउदै स्कुल पुग्यो। ठुलो लामो घर, ठुल्ठुला कोठाहरु, हरेक कोठामा दाङ्ग्रे कराए झैँ झ्याउ झ्याउ कराउने केटाकेटीहरु, को? के? बोलेका हुन्न? भन्ने फिटिक्कै थम्याउन नसकिने केटा-केटीहरुको हल्लाखोरे झुण्ड, म कुन कोठामा छिरम? अलमलमा परे। सबै आ-आफ्नो झुण्डमा मस्त छन्। चिने जानेका कोहि छैनन्, आफुलाई एक्लै परेझै महसुस गरे। घर सम्झे, आमालाई सम्झे! धुरुक्क रुन मन लाग्यो। खै किन हो किन? घरबाट यसरी कहिले एक्लै गएको थिइन। आमासँग कहिलेई यसरी टाढीएर बिताएको थिइन। हुन त स्कुलबाट घर त्यति टाढा भने हैन। तै पनि किनाहो किन अनकन्टार जंगलमा आए झै लाग्यो। म स्कुल हिडेको देखेर हासौँ-हासौँ, रोउँ-रोउँ झैँ मुहार बनाएकी आमालाई झनै सम्झिए। “पुरै पढेर आउनु है बाबु!” भनेकी थिइन्। “ह्या! जे पर्छ पर्छ म त घर फर्किन्छु” भनि यसो गेट तर्फ लागेको मात्र के थिए। पछाडीबाट आएको “तलाई केटा भाग्छस्?!” भन्ने डरलाग्दो स्वरले म स्तब्ध भै पछाडी हेरे। एक जना डरलाग्दा जुंगे बुढा मै तर्फ लम्कदै थिए। म थुर्रुर कामे, न भाग्न सके न बोल्न नै, झन्डै-झन्डै पिसाब फ़ुस्काइन। जुंगे बुढाको रौँ नै रौँले झप्प परेको हातले मलाई च्याप्प समात्यो, अनि उचालेर एउटा अँध्यारो कोठामा लग्यो। जहाँ ठुल्ठुला झ्यालहरु त थिए। तर धेरै माथि, पढ्नको लागी न बेञ्च टेबल थियो। न बत्तिको उज्यालो नै। केटा केटीहरु भुइमा यत्र-तट्त्र छरिएर बसेका थिए। बुढा छिर्ना साथ आफ्नै धुनमा चिच्याई रहेका केटाकेटीहरु सतर्क भए। बुढाले मलाई पनि त्यहि भुइमा कुखुराको चल्ला छाडे झैँ फ्यात्त छाडे। अनि "त बलेको छोरा हैनस्, मुर्ख! भाग्नु हुन्छ?” भन्दै पुरानो स्टकोटको खल्तीबाट सानो नरिवलको टुक्रा झिकेर म तिर तेर्स्याए। आज यी बुढाले के-के गर्नेहुन? भनेर होसहवास गुम भएको बेला, उल्टै बुढाले देखाएको मायालुपन संगै मैले सबै बिर्सिए। केटाकेटीको मन नै हो उत्तिन्खेरै “बुढा दिलका राम्रै रहेछन्” भन्ने तर्फ फर्कियो।
मैले नरिवलको टुक्रा के समाए, अन्य केटाकेटीहरुले रडाको पो मच्चाउन थाले। “बुढा बा! मलाई पनि, बुढा बा! मलाई पनि” बुढा बा वाक्क भएर कोठाबाट बाहिरिए। त्यै मौकामा मैले गडीको(नरिवल) टुक्रा मुखमा कोवाप्प हाले। सबैजना मेरै मुखमा हेरेर मुख मिठ्याउदै थिए। सायद त्यहि गडीको टुक्रोको कमाल होला। दुईचार जना केटाकेटी मेरो आसपास नै झुम्मिन थाले। कुराकानी भो मित्रता भो, हाफछुट्टीमा खान ल्याको बिस्कुट सबै मिलेर खान सुरु गरियो। सधैँ खाइराखेको बिस्कुट नै थियो। तर पनि त्यो दिन सबैसंग बाँडेर खादाको मज्जा मगर केटोले लुट्यो।  साथी भाई भनेका के रहेछन? अनि स्कुल भनेको के रहेछ? मगर केटोले केहि बुझे झैँ केहि नबुझे झैँ गर्यो। आज मगर केटोलाई निक्कै नै स्वादिष्ट बिस्कुट खाए झैँ लागेको लाग्यो
१ दिन २ दिन गर्दै समय बित्दै गयो। स्कुल जाने लगाब बढ्दै गयो। आफ्नै उमेर समुहका साथीहरु पनि धेरै बने, खुब रमाइलो लाग्थ्यो खुब स्वरमा स्वर मिलाएर मेहनतका साथमा पाठ पढ्थ्यो। वर्षहरु एक पछि अर्को गर्दै  बित्दै गए, सँग-सँगै कक्षा पनि फेरिदै गए। अनि पढाई हुने बिषयहरु पनि फेरिदै-फेरिदै झनै जटिल हुदै गए। गृहयकार्यहरु पनि थपिदै थपिदै जानथाले, स्कुलमा सर म्याडमले बोल्नु हुने नेपाली, अनि घरमा बाजे बजै, आमा बाबाले बोल्नु हुने मगर भाषा, मगर केटाको सानो दिमाग फनफनी घुम्ने गर्दथ्यो। किताबका नजानेका कुरा अभिभावकलाई सोध्यो, वाक्क परेर खिसिक्क हास्नु हुन्थ्यो। अनि "आफै पढ हामीलाई के थाहा" भन्ने उत्तर आउथ्यो।
नेपाली भाषी साथीहरुको पढाईको स्तर हेरी, मगर केटाको पढाईको स्तर दिन-प्रतिदिन खस्कदो थियो। साधारण केटाकेटीहरु झैँ केही कुरामा खोट भए जस्तो त लाग्दैन थियो। मगर केटो न कुनै शारीरिक अनि मानसिक रुपमा असक्त नै थियो। तर पनि किन-किन ऊ स्कुलमा कम्जोर ठहरिन्थ्यो, मुर्ख नलाएक ठहरिन्थ्यो। पढ्न चाहन्थ्यो! गृहयकार्य गर्न चाहन्थ्यो! तर उसलाई साथ दिने कोहि थिएनन्। न बाबा आमा, परिवारले नै साथ दिन सक्थ्यो। न शिक्षक शिक्षिकाले नै। ऊ नितान्त एक्लिदै गयो। उसलाई स्कुल अनि शिक्षा प्रति वितृष्णा पैदा हुदै गयो। स्कुल जाने जोस् बिस्तारै बिस्तारै सेलाउदै जान थाल्यो। घिन लाग्न थाल्यो किताब कापी देखेर, पढाउने शिक्षकहरु रक्षेस झैँ लाग्न थालेको थियो। “हुन पनि बिनाकारण आफुलाई पागल, मुर्ख बनाउने बस्तुहरु कसलाई पो मन पर्दछ र?” अब साथमा, मिल्ने साथी भाईहरु मात्रै थिए। समय यस्तो आयो कि, स्कुल नजाऊ बाबा आमाको झापड भेट्ने, स्कुल जाँउ सर म्याडमको झापड, हेँ दैब! कहाँ जाऊ म? जाने ठाउँ कहिछैन। मिल्छ भने सबैलाई मेरो बाध्यता बुझ्ने बनाइदे! स्कुल पनि जान नपर्ने घर पनि फर्कनु नपर्ने बातावरण बनाइदे भगवान ! मेरो तिमीलाई यहि बिन्ति छ! यहि बिन्ति छ! म यहाँ भन्दा "मुर्ख मगर केटो" भन्ने शब्द सुन्न चाहन्न भगवान!
विजे
मैले यो कथा म जस्तै उक्त बालवालिकाहरुका लागी लेखेको हुँ। जसले स्कुले जीवनमा यस्तै मानसिक यातना झेल्नु परेका छन्। जसको आफ्नै मातृभाषा हुदा हुदै पनि बाध्य भएर नेपाली भाषामा अध्यान गर्नु पर्ने बाध्यता छ। अनि नचाहदा नचाहदै पनि "मुर्ख ....केटा" भन्ने उपनाम पाउने गरेका छन्जसको कारणले सुरु सुरुमा नियमित स्कुल नआउने अनि कालान्तरमा गएर स्कुल नै छाड्ने गरेका छन्। के दोष त्यस्ता बालबालिकाको हो? या त्यी अभिभावकहरुको? जसले आफ्ना छोरा छोरिको पढाइमा भाषिक बिभिदताका कारण साथ दिन सक्दैनन्। कि त्यी शिक्षकहरुको? जसले चाहेर पनि त्यस्ता बालवालिकालाई सहयोग गर्न सक्दैनन्।
यहाँ कतिलाई मेरा यी प्रश्न प्रति व्यंग्यात्मक हाँसो लाग्ला। तर एक पटक सोच्नुहोस्, बेग्लै भाषा बोल्ने स्थानमा जानु हुँदा आफुले आफुलाई लाटो झैँ महसुस गर्नु भएको छ कि छैन ?

A Short Magar Kauda dance